रोहित सम्मिलित पर्सिजा पराजित 

न्युज कारखाना

काठमाडौं, ९ मंसिर

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेशियन लिग वानमा पराजित भएको छ । 

बिहीबार साँझ घरेलु मैदान गेरोर बुङ कुर्नाे स्टेडियममा भएको खेलमा पर्सिजा बाली युनाईटेड एफसीसँग १–० अन्तरले पराजित भएको हो । 

बालीलाई सातौं जित दिलाउने क्रममा इलीजा स्पासोजेभिकले निर्णायक गोल गरे । २६ मिनेटमा इलाजाले गरेको गोलमा बालीले महत्त्वपूर्ण तिन अंक जोड्यो । 

खेलमा पर्सिजाले पाएको पेनाल्टी समेत सदुपयोग गर्न नसक्दा सिजनको तेस्रो हार बेहोर्न बाध्य भयो । ९० मिनेटमा पाएको पेनाल्टीलाई क्रोयशियन फरवार्ड मार्काे सिमिकले सदुपयोग गर्न सकेनन् । 

बालीविरुद्ध प्लेईङ सेटमा खेलेका रोहितले ७४ मिनेट मैदानमा बिताएका थिए । 

जितपछि बाली १३ औं चरणको खेल सकिँदा २५ अंक सहित चौथो स्थानमा छ । पराजित पर्सिजा भने खराब प्रदर्शनलाई निरन्तरता दिँदै १८ अंकका साथ नवौं स्थानमा छ । २९ अंक जोडेको भायङकरा एफसी शीर्षस्थानमा छ ।

Follow Us