पर्यटकीय क्षेत्रको प्रचार गर्न इलाममा अन्तर्देशीय पर्यटनमैत्री साहित्य सम्मेलन हुने

न्युज कारखाना

इलाम, १६ मंसिर

साहित्यको माध्यमद्वारा देश विदेशमा इलामको पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागि ‘अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन २०७८’ हुने भएको छ । साहित्यिक पत्रकार संघ काठमाडौं, इलाम नगरपालिका साहित्य कला प्रतिष्ठान र नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा दुई दिने अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलनको आयोजना गरिएको हो । 

मंसिर १८ र १९ गतेका लागि हुने कार्यक्रम अन्तर्गत पहिलो दिन उद्घाटन समारोह, इलामको पर्यटकीय स्थल साहित्य सिर्जना शीर्षकमा कार्यपत्र प्रस्तुति, टिप्पणी र त्यसमा छलफल हुनेछ । सोही दिन कविता वाचन र स्व. नारायण गोपालको स्मृतिमा उनका गीत प्रस्तुत हुनेछन् । 

दोस्रो दिन भने सम्मेलनमा सहभागी साहित्यकारलाई इलाम नगरपालिका क्षेत्रको भ्रमण गराइने छ । भ्रमणपछि उनीहरूसँग छलफल गरेर कार्यक्रम समापन हुनेछ । कार्यक्रमले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुग्ने नगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए । 

‘साहित्यको माध्यमबाट पनि इलामको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको हो’, अध्यक्ष अधिकारीले भने,‘यो कार्यक्रमको माध्यमबाट इलामको पर्यटकीय क्षेत्रमा पुग्ने अवसर नपाएका नेपाल र छिमेकी मुलुकका साहित्यकारको लागि अवसर हुनेछ ।’ साहित्य सम्मेलनमा सहभागी साहित्यकारको सिर्जनाले इलामलाई धेरै ठाउँमा चिनाउने आयोजकको अपेक्षा छ । 

कार्यक्रममा नेपालका विभिन्न ठाउँ सहित छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम, शिलिगुढीका साहित्यकारहरू सहभागी हुने इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानका सचिव दिवाकर भणडारीले जानकारी दिए ।

 

Follow Us